‘आधा देशको राजकुमार’ शाश्वतको चर्चित बाल उपन्यास हो यसलाई सन् २००४ मा रुम टु रिडले प्रकाशनमा ल्याएको हो । यस बाल उपन्यासमा मुकुल नाम गरेको एक बाल पात्र र एउटा फुच्चे जादुगरको कथा छ । जादुगरको कोमल मन, उनको सहयोगी भावनालाई प्रस्तुत गर्दै मुकुल र उसका साथीहरूको रोमाञ्चक यात्रालाई यस बाल उपन्यासले समेटेको छ । उपन्यासको मध्यतिर स्वैर परिकल्पनाको पनि राम्रो प्रयोग भएको पाइन्छ ।
बाल श्रमका विरुद्धमा आवाज उठाउने यस उपन्यास कुतुहलपूर्ण र रहस्यले भरिएको छ । अन्त्यमा रमाइलो ढङ्गमा रहस्योद्धाटन हुँदै कथा टुङ्गिन्छ ।
चित्रः अविन श्रेष्ठ
प्रकाशकः रुम टु रीड, काठमाडौँ
पहिलो संस्करण- सन् २००४
समीक्षा
यो बालउपन्यास विषयवस्तु र प्रस्तुति दुवै दृष्टिकोणले बालबालिकाका लागि अत्यन्त रोचक छ । एउटा फुच्चे जादुगर र अन्य तीन बालबालिका प्रमुख पात्रका रूपमा उपन्यासमा रहेका छन् र तिनकै वरिपरि उपन्यासको कथा घुमेको छ । उपन्यासमा हाम्रो समाजमा अहिले विद्यमान बालश्रम, जुवातासजस्ता विकृति र कुपोषणजस्ता समस्याको चित्रण भएको छ र बालक्लब, भित्तेपत्रिकाका माध्यमबाट भइरहेका चेतनाको प्रसारप्रसार कार्यलाई पनि देखाइएको छ ।
– प्रमोद प्रधान, नेपाली बालवाङ्मय परिचयकोश